नयाँ पाठ्यक्रम अध्यापनका लागि विद्यालयमा स्नातकोत्तर तह उत्तीर्ण शिक्षक चाहिन्छ । हाल स्नातक तहको जनशक्तिले कक्षा १० सम्म अध्यापन गराउँदै आएका छन् । माथिल्लो कक्षामा पढाउन माथिल्लो शैक्षिक योग्यता भएको जनशक्ति चाहिने भएकाले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने सम्बद्ध व्यक्तिहरूले आँैल्याउनुभएको छ । नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले विद्यालय तहमा ५३ हजार शिक्षक आवश्यक पर्ने प्रतिवेदन सरकारलाई बुझाइए पनि यसतर्फ कुनै प्रयास हुन नसकेको बत(ाउनुभयो । कक्षा ११ मा अनिवार्य विषय दुईबाट तीनवटा गरिएपछि विद्यालयमा स्वतः माथिल्लो शैक्षिक योग्यताको शिक्षक आवश्यक पर्ने उहाँको भनाइ छ ।
शिक्षक थप नगर्ने तथा शिक्षकलाई अध्यापनका लागि आवश्यक तयारीसमेत नगरिएको अवस्थामा पठनपाठन प्रभावकारी हुन नसक्ने उहाँले बताउनुभयो । यसमा सरकारले आवश्यक तयारी गर्नुपर्नेमा उहाँको जोड छ ।
कक्षा ११ मा यस पटकबाट नेपाली र अङ्ग्रेजीका साथै सामाजिक विषयसमेत अनिवार्य गरिएको छ । सामाजिक विषय धेरै बोझिलो बनाइएको र नेपालीमा अध्यापन गर्नुपर्ने प्रावधानबाट यसको कार्यान्वयनमा जटिलता आउन सक्ने जनाइएको छ । राजधानीको गोठाटारस्थित तेजविनायक माध्यमिक विद्यालयका प्रधानाध्यापक मधुप्रसाद तिमिल्सिनाले नयाँ पाठ्यक्रम लागू हुँदैछ भन्ने विषयमा विद्यालय, शिक्षक पूरै बेखबर रहेको भन्दै यसका लागि आवश्यक तयारी गर्न अब ढिला भइसकेको बत(ाउनुभयो ।
हाल कक्षा १० मा कार्यरत शिक्षकबाट मात्रै कक्षा ११ मा पढाउन नमिल्ने र यसबाट गुणस्तर कायम गर्न नसकिने उहाँको भनाइ छ । अनिवार्य विषय थप भएको तथा पाठ्यभार बढाइएको अवस्थामा शिक्षक अभाव हुनु भनेको पठनपाठन काम चलाउने मात्रै हुने उहाँ बताउनुहुन्छ ।
सामाजिक विषयका शिक्षक गोविन्द भण्डारी कक्षा १० मा अध्यापन गराएको शिक्षकलाई जबरजस्ती माथिल्लो तहमा पढाउन दिन नहुने स्पष्ट गर्दै यसले विद्यार्थीको सिकाइ उपलब्धि कमजोर बनाउने बताउनुहुन्छ ।
आवश्यक शैक्षिक योग्यतासमेत नपुगेको तथा अभिमुखीकरणसमेत नगरिएका शिक्षकलाई चलिहाल्छ नि भन्ने हिसाबले माथिल्लो कक्षामा पढाउन दिँदा यसले नेपालको शिक्षा क्षेत्रमा दीर्घकालीन समस्या ल्याउने उहाँको विश्लेषण छ । धेरै कमजोर पृष्ठभूमिका मानिस मात्र शिक्षकमा आउने क्रम नरोकिएको र शिक्षण पेसाप्रति युवा जनशक्तिमा मोह जाग्न नसकेको अवस्थामा कक्षा ११ मा योग्य शिक्षक ल्याउनेतर्फ तत्काल प्रयास गरिनुपर्ने उहाँले बताउनुभयो ।
निजी शैक्षिक संस्थाले पनि यस विषयमा आवश्यक तयारी गर्न र सोच्न नभ्याएको राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एनप्याब्सन)का अध्यक्ष ऋतुराज सापकोटा बताउनुहुन्छ । कक्षा ११ मा स्नातकोत्तर तहको शिक्षकबाट अध्यापन गराउनुपर्ने भएकाले यसका लागि केही तयारी आवश्यक पर्ने उहाँको भनाइ छ । यो अवस्थामा सरकारले पाठ्यक्रमको व्ययभारसमेत घटाउनु सान्दर्भिक हुने उहाँको सुझाव छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले हाल कक्षा ९ र १० मा अध्यापन गराउने योग्यता पुगेका शिक्षकलाई माथिल्लो तहमा कक्षा दिनुपर्ने अवस्था रहेको बताउनुभयो ।
कक्षा ११ र १२ सञ्चालन गरेका विद्यालयलाई सरकारले शिक्षक अनुदानका रूपमा समेत सहयोग गर्ने गरेकाले यसबाट तत्काल शिक्षक अभाव पूरा गर्न सकिने उहाँको भनाइ छ । विद्यालय तहमा शिक्षकको दरबन्दी मिलान पूरा भएपछि थप शिक्षक आवश्यक परेको अवस्थामा नयाँ दरबन्दी थप गर्ने योजना रहेको निर्देशक गौतमले जानकारी दिनुभयो ।
Post a Comment